एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक विजयी भएको छ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा जारी राखेको छ ।
यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । लुम्बिनी लायन्सले भने जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । आफ्नो तेस्रो खेलसम्म पनि लुम्बिनी जितविहीन छ । १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आज नौ विकेट गुमाएर २० ओभरमा केवल १४२ रन मात्र बनायो ।
आज सुदूरपश्चिमको जितमा सैफ जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा आक्रामक पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले २३ तथा विनोद भण्डारीले १७ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २०५.२६ को स्ट्राइक रेटमा अविजित ३९ रन बनाए ।
लुम्बिनीका लागि बलिङतर्फ रामोन सिम्मोन्ड्सले दुई विकेट लिए । रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए । ब्याटिङतर्फ लुम्बिनी पारीको सुरूआतमै धरमरायो । पाँच रनमै दुवै ओपनर गुमाएको लुम्बिनीका लागि विवेक यादवले उत्कृष्ट पारी खेल्दै आक्रामक रूपमा ५४ बलमा ७७ रन जोड्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए ।
उनको पारीमा सात छक्का र तीन चौका समावेश थियो । यस्तै सन्दीप जोराले २६ बलमा २० रन बनाए । कप्तान रोहित पौडेल पाँच रनमा पभेलियन फर्किए । सुदूरपश्चिमका स्कट कुगेलेजिनले दुई तथा ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका जैबले बलिङमा पनि तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।