कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । आज (सोमबार) प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
एमालेका सांसद समेत रहेका अधिकारीविरूद्ध आजै मुद्दा नचल्ने निर्णय भएको थियो । सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । अधिकारी मानव तस्करीको आरोपमा फक्राउ परेका थिए। पक्राउ परेका अरु ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । तीन जना फरार छन् ।
गत कातिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको खुलेको थियो ।
टोकियो विमानस्थलबाट निष्कासन भई काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् । दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार जम्मा गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
देवकोटाले जापान जान १० लाख बुझाएको खुलेको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलबाट समातिएका थिए । जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाएको पाइएको थियो ।