पुथा उत्तरगंगाको उपाध्यक्षमा नेकपा एसले फिर्ता लियो उम्मेदवारी, माओवादीलाई सघाउने
रुकुमपूर्व । नेकपा एकीकृत समाजवादीले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ । ऋाज (बुधबार) माओवादी केन्द्र र एकीकृत समाजवादीको जिल्ला कमिटीबीच पाँच बुँदे सहमतिपछि एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता गरेर माओवादी केन्द्रका नरपुरा बुढालाई समर्थन गर्ने निर्णय गरेको हो । पाँच सहमतिबारे भने विज्ञप्तिमा खुलाइएको छैन।
बुधबार माओवादी केन्द्रको पूर्वी रूकुम संयोजक कुमारी बराल र एकीकृत समाजवादीको इन्चार्ज भीउमान घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै सहकार्यको सहमति भएको जानकारी दिँदै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदाताहरूलाई आह्वान गरेका छन् ।
पुथा उत्तरगंगामा कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी नेता केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । तुलाचन एमाले रूकुमपूर्व कमिटीकी उपसचिव हुन् । एमालेकी नेतालाई चुनाव आफ्नो चिह्न (रूख) लिने सर्तमा कांग्रेसले पनि साझा उम्मेदवार बनाएको हो । कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) स्वतन्त्र उम्मेदवार छन् ।
नेकपा माओवादी केन्द्रले यसअघि स्थानीय तह उपनिर्वाचनमा एक्लै लड्ने, कसैसँग गठबन्धन गर्ने बताउँदै आएको थियो । कीर्तिपुर नगरपालिकामा त सत्तामै रहेको जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । कीर्तिपुरमा माओवादी मेयर र वडा–४ को अध्यक्ष उम्मेदवारलाई जनता समाजवादीले र वडा–१ को अध्यक्षमा जसपाका तर्फबाट प्रस्तुत उम्मेदवारलाई माओवादीका तर्फबाट साझा उम्मेदवारमा प्रस्तुत गर्ने भएको छ ।