आर्थिक वृद्धिमा नेपालले खासै प्रगति गर्न सकेन : सचिव मरासिनी
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अति कम विकसित मुलुक (एलडीसी) को सूचीमा हुँदा पनि आर्थिक वृद्धिमा पर्याप्त प्रगति गर्न नसकेको बताएका छन् ।
आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘एफएनसीसीआई इनोभेसन संवाद’ कार्यक्रममा बोल्दै सचिव मरासिनीले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्ने बताएका हुन् । उनले एलडीसीका सूचीमा रहेका अन्य देशहरूले आर्थिक वृद्धिमा उल्लेखनीय फड्को मारेको चर्चा गर्दै नेपालले भने सोही समयमा खासै उपलब्धि हासिल गर्न नसकेको बताए ।
सचिव मरासिनीले भने, ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं । तर, एलडीसीमा हुँदा पनि हामीले आर्थिक वृद्धिको क्षेत्रमा अपेक्षित प्रगति गर्न सकेनौं । अन्य मुलुकहरू आर्थिक रूपमा माथि पुगिसकेका छन्, तर नेपालले आय वृद्धिमा सुधार गर्न सकेन । अन्य दुई सूचकमा सुधार भएकाले मात्रै स्तरोन्नति सम्भव भएको हो । अब, पुनः एलडीसीमा नझर्ने र दीर्घकालीन रूपमा अगाडि बढ्ने आधार तयार गर्न आवश्यक छ ।’
उनले मुलुकको व्यापार र नवीनतम उद्यमको विकासलाई स्तरोन्नतिको मुख्य आधारका रूपमा परिभाषित गरे। शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्दै निजी क्षेत्रलाई सहुलियत दिनुपर्नेमा उनले जोड दिए । साथै, युवाहरूलाई नवीन आविष्कारका लागि अवसरहरू प्रदान गर्न सरकारले नलेजवेस अर्थतन्त्रलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । सचिव मरासिनीले थपे, ‘सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुका साथै निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ । व्यापार र नवीनतम उद्यमको विकास गरेर मात्रै मुलुकलाई दीर्घकालीन रूपमा समृद्ध बनाउन सकिन्छ ।’