ग्यास बुलेटको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वी राजमार्गमा भारतबाट बनेपातर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट एक पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार दिउँसो १ बजेतिरको समयमा उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट अनुमानित ५०-५५ बर्ष उमेरको महिलाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार मृतकको नाम, थर, र वतन हालसम्म खुल्न सकेको छैन ।
घटना पछि स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुबैतर्फ अवरुद्ध भएको छ।स्थानियहरूसँग समन्वय गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट निरीक्षक निरला भण्डारीको नेतृत्वमा ३९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
ठक्कर दिने भारतीय ग्यास बुलेटलाई प्रहरीको निगरानीमा धादिङको मझिमटार पठाइएको प्रहरीले जनाएको छ । ग्यास बुलेटका चालक भारत बिहारको बेगुसराय जिल्ला निवासी ६२ वर्षीय मोहम्मद मतिनलाई मुग्लिङ प्रहरीको नियन्त्रणमा राखिएको छ । शवको व्यवस्थापन र बाटो सुचारु गर्न स्थानीयसँग प्रहरीको समन्वय जारी रहेको प्रवक्ता रिजालले बताए ।