उपनिर्वाचनका लागि भयरहित वातावरण बनाउन आयोगको निर्देशन


२०८१ मङ्सिर ३ सोमबार २०:३९ बजे

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदानकार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्णपालना गर्न-गराउन, आचारसंहिता पालना भए÷नभएको अनुमगन गर्न र निषेधित कार्य भए-गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ । यही मंसिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ ।

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थल-केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।

सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।

यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार समेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ। निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्ने-नगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७