सडक आन्दोलनमा उत्रिने रास्वपाका १८ सांसदविरुद्ध अवहेलना मुद्दा
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा सडक आन्दोलनमा उत्रने रास्वपाका १८ सांसदसहित नेताहरुविरुद्ध अवहेलना मुद्दा परेको छ ।कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि भइरहेको अनुसन्धान ‘राजनीतिक प्रतिशोध’ भन्दै उनलाई तुरुन्तै रिहा गर्न अदालतलाई दबाब दिने उद्देश्यका साथ सडक आन्दोलन गरेका रास्वपाका सांसदहरुविरुद्ध अवहेलना मुद्दा दर्ता हुने भएको हो ।
अधिवक्ता अनुपम भट्टराईले रास्वापका सांसद तथा नेताहरुले अदालतलाई प्रभावित पार्ने विचाराधीन मुद्दा र अनुसन्धानलाई प्रभावित पार्न लागिपरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । कात्तिक १४ गते सहरजिष्ट्रार अच्युत कुईकेलले ठोस प्रमाणको अभाव रहेको भन्दै दरपिठ गरेको रिट निवेदन मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेको छ ।
दरपिठ आदेश बदर भएसँगै सभापति छुटाउन भन्दै अदालत र न्यायाधीशविरुद्ध सडकमा उगेका रास्वाका सांसदहरुविरुद्ध अवहेलना मुद्दा दर्ता हुने भएको हो । आदेशपछि संभवत बुधबार रिट निवेदन दर्ता भएर पेशी तोकिने अधिवक्ता भट्टराईले जानकारी दिए । रास्वपाका सांसद, नेता–कार्यकर्ताको क्रियाकलापबाट स्वतन्त्र न्याय पालिकाको आफ्नो कार्य सम्पादनमा असर गरेको उनको दाबी छ ।
उनीहरुको भनाइले न्यायपालिका कार्यपालिको हस्तक्षेप वा निर्देशनमा चलेको भन्ने गलत भाष्य सिर्जना भइरहेको निवेदकले जनाएका छन् । लामिछाने पक्राउपछि रास्वपाका सांसद, नेता कार्यकर्ताले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । रिटमा सांसदहरु स्वर्णिम वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ, चन्दा कार्की, गणेश पराजुली, डोलप्रसाद अर्यालसहित १८ जना विपक्षी छन् । प्रतिनिधिसभाका रास्वपाका २१ जना सांसद छन् ।