जनमत सांसद सापकोटाको पद ‘धराप’ मा


२०८१ मङ्सिर ३ सोमबार २०:३९ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ (सापकोटा) लाई कारबाही गरिएको सूचना टाँस्ने तयारी अगाडि बढाएका छन् । गत वर्ष फागुन २७ गते जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई सांसद पदबाट हटाउन सभामुख घिमिरेलाई पत्र पठाएको थियो ।

तर, झण्डै नौ महिनासम्म जनमत पार्टीको निर्णयसहितको पत्राचार कार्यान्वयन भएको थिएन । जनमत पार्टीले पटक–पटक पत्राचारबारे सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो । जनमतको सिफारिस बमोजिम सभामुखले कारबाहीसम्बन्धी सूचना ननिकालेपछि उनी सांसद पदमा बहाल नै छिन् ।

तर, जनमतले सांसद सापकोटालाई कारबाही गर्न चौंथो पटक पत्र पठाएपछि सभामुख घिमिरेले आवश्यक कारबाहीका लागि भन्दै तोक लगाइ दिएका छन् । अब संघीय संसद् सचिवालयलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । अब सचिवालयले टिप्पणी उठाएर पठाएपछि संघीय संसद् सचिवालयका महासचिवले सभामुखसमक्ष पेस गर्ने छन् । सभामुखले अघि बढाएपछि सचिवालयको सूचना पाटीमा सूचना प्रकाशन हुनेछ । संसद्को अधिवेशन जारी नभएकाले संसद् सचिवालयको सूचना टाँस गरेसँगै उनको सांसद पद रिक्त हुने छ ।

जनमत पार्टी संसदीय दलका उपनेता समेत रहेको उपाध्यक्ष अब्दुल खानले सांसद सापकोटालाई अनुशासनको कारबाही गरेको जानकारी दिए । उनले खास कारण भने खुलाउन चाहेनन् । जनमत पार्टीले ०८० चैत १ मा दोस्रो पटक, ०८१ भदौ २७ मा तेस्रो पटक र ०८१ कार्तिक २७ गते चौंथो पटक पत्र पठाएको छ । चौंथो पटकको पत्राचारपछि जनमतका अध्यक्ष सीके राउतले सभामुख घिमिरेसँग कानुन व्यवसायीसहित पुगेर छलफल गरेका थिए ।

छलफलपछि सभामुखले पत्रका तोक लगाएर अघि बढाइदिएका हुन् । ऐनको दफा ३६ मा सभामुखले सम्बन्धित सदन वा सभालाई दिएपछि वा सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने उल्लेख छ । साथै उपदफा २ अनुसार सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले आयोगलाई १५ दिनभित्र दिनुपर्ने उल्लेख छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७