पुलमा भ्वाङ परेपछि धुलाबारी–भद्रपुर सडक बन्द   


२०८१ मङ्सिर ३ सोमबार २०:४३ बजे

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सीमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।

भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताए । धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्‍याउँदै आएका थिए ।

‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चलेका छैनन्’, स्थानीय न्यौपानेले भने, ‘जनताले साह्रै दुःख पाए, सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।’ भूटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्न सोही सडक प्रयोग गर्दै आएका थिए । 

अब उनीहरुले विर्तामोड र चारआलीको अर्को लामो सडक प्रयोग गर्नुपरिरहेको छ । ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थी यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् । भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावक पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् ।

यसैबीच भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गरेका छन् । विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ । ‘एउटा नगरपालिकाले अर्कोलाई देखाएर समस्याबाट फुत्किने जुक्ति मात्र लगाएर हुँदैन’, भद्रपुर–९ निवासी राहुल राजवंशी भन्छन्, ‘करोडौंको बजेट बनाउने नगरपालिकाले भत्किएको पुल समेत टाल्न नसक्दा यो अवस्था आयो ।’ नगरपालिकाहरुले पूर्वाधार शुल्क भनेर सवारी साधनबाट कर उठाउने गरेको जनाउँदै राजवंशीले पुल मर्मत गर्ने दायित्वबाट दुवै नगरपालिका पन्छिन नहुने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७