श्रीलंकामा पहिलो पटक बामपन्थी गठबन्धनलाई दुई तिहाई मत
काठमाडौं । श्रीलंकामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ । मार्क्सवादी विचारधारमा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सीटमा विजयी भएको हो ।
निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार दिसानायकेको एनपीपी विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरै अगाडि छ । २२५ सदस्यीय संसदमा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ ।
तमिल जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्ने इलान्काई तमिल अरासु काच्चीले ६ सिट, न्यू डेमोक्रेटिक फ्रन्ट र श्रीलंका पोदुजाना पेरामुनाले क्रमश तीन र दुई सिटमा जित निकालेका छन् । निर्वाचन आयोगका अनुसार, बिहीबार भएको चुनावमा लगभग ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति चुनाव भने लगभग ८० प्रतिशत मतदान भएको थियो ।
लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पूराना दलहरुलाई पाखा लगाउँदै वैकल्पिक शक्तिका रुपमा दिसानायकेलाई राष्ट्रपतिमा जिताएका थिए । दिसानायकेको गठबन्धनसँग निवर्तमान संसदमा जम्मा तीनवटा सिट मात्रै थिए । त्यही भएर राष्ट्रपति दिसानायकेले नयाँ जनादेशको खोजीमा तत्काल संसदीय चुनावको घोषणा गरेका थिए ।
श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो । राष्ट्रपति दिसानायकेका लागि यो निर्वाचनमा बहुमत ल्याउनु निकै महत्वपूर्ण थियो । राष्ट्रपति दिसानायकेले संसदबाट अनुमोदन गरेपछि मात्र आफ्ना महत्वपूर्ण नीतिहरू कार्यान्वयन गर्न सक्ने छन् । एजेन्सी