सरकारलाई निरन्तरताको विषयमा एमाले–कांग्रेसबीच गहिरो समझदारी छ : शंकर पोखरेल
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको दावी गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताबीचमा लोकप्रिय भए पनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताए।
‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौँ, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौं’, पोखरेलले भने । आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताउँदै पोखरेलले यसको सबैभन्दा बढी लाभ नेकपा एमालले लिने बताए। अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने उनले स्पष्ट पारे । ‘कांग्रेससँग सहकार्य र प्रतिष्पर्धा पनि सँगसँगै छ भन्ने सच्चाइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, पोखरेलले भने ।
सरकार परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण जति हुनुपर्ने त्यति काम हुन नसकेको पोखरेलले बताएका छन् । तर अहिले ती हल्ला निष्तेज भएको उनले प्रष्ट पारे । ‘एमाले र कांग्रेसबीच सरकारलाई निरन्तरता दिने विषयमा गहिरो समझदारी छ, यद्यपि सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास जारी छ’, उनले भने ।
अहिले समाजमा फैलँदै गएको सामाजिक अराजकता ठुलो चुनौतीको रूपमा रहेको उनले बताए । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने पोखरेलको भनाइ छ । समाजमा आशा जागृत गर्ने गरी संगठित शक्ति नलाग्ने हो भने निराशा चिन नसक्ने पोखरेलले धारणा राखे ।
नेपालका संस्कृति मूल्य मान्यतालाई विगठन गर्ने पनि सुनियोजित प्रयास भइरहेका बताए । विभिन्न खालका अतिवाद माथि वैचारिक रूपमा विजय प्राप्त गर्न आवश्यक रहेको पोखरेलले स्पष्ट पारे । आजको आर्थिक सङ्कटका समाधानको सामर्थ्य नेकपा एमालेसँग मात्रै रहेको पनि उनले दाबी गरे । अहिले नीति, कार्यक्रम र बजेट पास भइसकेकोले धेरै काम गर्न नसकेको भए पनि आउने वर्षबाट यसलाई सुधार गरेर लैजान सकिने पोखरेलले स्पष्ट पारे । कतिपय सुधारका सन्दर्भमा केही समेको प्रतीक्षा गर्न आवश्यक हुने पनि उनले बताए ।
देशको विकासको आधार तयार गर्नको लागि सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक रहेको पोखरेलले बताए । मुलुकलाई अगाडि बढाउन अहिलेको अन्यौलतालाई चिर्नु पर्ने पोखरेलले बताए । सरकारका विरुद्ध नियमित रूपमा गरिएका गलत प्रचार चिर्नको लागि एमालेले मंसिर ७ गते विशेष कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए । एमालेले आयोजना गर्ने जागरण सभाले जनतालाई पार्टीसँग थप जोड्ने उनले विश्वास व्यक्त गरे ।