गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी र स्थानीयबीच धकेलाधकेल
काठमाडौं । काठमाडौंको गौशालामा काठमाडौं महानगरपालिकाको प्रहरी बल र स्थानीयबीच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि मारवाडी सेवा समितिका साथै स्थानीय सडकमा उत्रिएपछि तनाव सिर्जना भएको हो ।
माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरप्रहरी गौशाला पुगेको थियो । अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सो क्रममा स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए । महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।
काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेपछि महानगरको टोली उक्त संरचना खाली गराउन पुगेको थियो । तर स्थानीय र माडवाडी समितिले अवरोध गरेको छ । यसअघि पशुपति विकास कोषले धर्मशाला सञ्चालन गराउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो ।