प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । आयोगले उनलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।