समुदायको भावनामा चोट पर्ने गरी मैनालीको विवादास्पद अभिव्यक्ति
काठमाडौं : लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले राई र लिम्बु समुदायको अपमान हुने गरी विवादास्पद अभिव्यक्ति दिएका छन् । मैनालीले राई र लिम्बु समुदायका दुई अगुवाहरुको नाम लिदै ती नाम र थर घुस लिदा प्रयोग गरिने कोड भाषा भएको जिकिर गरेका छन् ।
मैनालीले निजामती कर्मचारी वृत्तमा थोरै रकम घुस खानेलाई धनहर्क राई र धेरै घुस खानेलाई रकम चेम्जोङ भनेर कोड भाषा प्रयोग गर्ने गरिएको दाबी गरेका छन् । सुशासन सम्बन्धी एक बहस कार्यक्रममा भनेका छन्, ‘कर्मचारी प्रशासनमा कोड भाषा छ । थोर-थोर खानेलाई धनहर्क राई, अनि झ्याम्मै खानेलाई रकम चेम्जोङ ।’
‘सार्वजनिक प्रशासनमा नैतिकता : पतनको बाटोमा कि सुधारको संघारमा ?’ शिर्षकमा उनले चलाएको पोलेसी डाइलग बहसमा कम घुस खाने धनहर्क राई र बढी खाने रकम चेम्जोङ कोड भाषा निजामति वृत्तमा चर्चित रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘धनहर्क राई भनेपछि यसले थोर थोर हानेछ भन्ने बुझिन्छ, रकम चेम्जोङ नै हो भनेपछि ठुलै हानेछ ।’ तर राई र चेम्जोङको नाम किन यसरी कोड भाषामा प्रयोग गरिएको हो भन्ने चहि उनले खुलाएका छैनन् ।
मैनालीले उल्लेख गरेको नाम रकम चेम्जोङ, पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष हुन् । तर चेम्जोङ अहिलेसम्म घुस वा भ्रष्टाचार सम्बन्धी कुनै पनि विवादमा मुछिएका छैनन् । यस मामिलामा उनी ‘क्लिन’ नेता हुन् ।
यसैगरी उनले अर्को कोड भाषा प्रयोग गरेका धनहर्क राई नेकपा (एमाले)का पूर्व सांसद हुन् । प्राध्यापनबाट राजनीतिमा आएका राई यसअघि विद्यादेवी भण्डारी राष्ट्रपति भएको बेला राजनीतिक विज्ञको रुपमा जिम्मेवारी सम्हालेका थिए । भोजपुरका राई बेदाग नेता हुन् ।
निजामति कर्मचारीको घुस तथा भ्रष्टाचारमा धनहर्क राई र रकम चेम्जोङलाई ‘सिम्बोल’को रुपमा व्याख्या गरेको भन्दै कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन् । ‘उहाँ जस्तो अगुवा व्यक्तित्वले राई र लिम्बु समुदायका सम्मानित नामहरु लिएर उहाँहरूकाे नाम घुसको कोड भाषामा प्रयोग भएको दाबी गर्नु भएको छ । यी दुबै नाम र थर काल्पनिक भन्दा नी दुबै स्थापित हुन्,’ एक सहसचिवले भने, ‘खोई, हामी पनि निजामति लामो समयदेखि सेवामा छौं । हामीले त्यस्तो कहिल्यै सुनेका थिएनौं ।’
अर्का एक उपसचिवले मैनालीले स्पष्टीकरण सहित आफ्नो विवादास्पद अभिव्यक्ति ‘करेक्सन’ गर्नु पर्ने बताए । उनले भने, ‘धनहर्क राई भनेको उही सांसद धनर्हक हुन् की अरु कोही, रकम चेम्जोङ भनेको उही पूर्व मन्त्री हुन् वा अरु कोही ? फेरि यहाँ निर राई र लिम्बुलाई नै किन राखियो ? भ्रष्टचारीको कुनै समुदाय र जात हुन्न । तर यहाँ कुनै जात विशेषको भाष्य निर्माण गर्न खोजिएको देखिन्छ ।’