राष्ट्रपतिसँग को–को गए अजरबैजान ?

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई


२०८१ कार्तिक २५ आइतबार १९:०२ बजे

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलमा राष्ट्रपतिकी श्रीमती सविता पौडेल, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर, राष्ट्रपतिका जल तथा वातावरण विज्ञ डा. परमेश्वर पोखरेल छन् । 

त्यस्तै प्रमुख स्वकीय सचिव एवम् छोरी अवज्ञा पौडेल,नेपाली सेनाका सहायक रथी मनोज बैदवार,राष्ट्रपतिका सञ्चार विज्ञ किरणकुमार पोखरेल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव पुरुषोत्तम ढुङ्गेल पनि टोलीमा छन् । 

सेनानी हरिबहादुर श्रेष्ठ, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत प्रवीण भट्टराई, निजी चिकित्सक डा. निरज बम, नेपाल टेलिभिजनका क्यामेराम्यान उत्तम सिलवाल र सहयोगी प्रदीपमगर पनि आजैको उडानमा बाकु गएका छन् । 

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गरेका छन् । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेण्डा’ माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका रहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७