कैद सजाय सुनाइएपछि मनाङे ‘सम्पर्कविहीन’


०७:३७ बजे

काठमाडौं । दुई दशकअघिको घटनाले जेल जानु पर्ने अवस्थामा पुगेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाए लगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन् । 

गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको २० वर्ष पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । त्यसलगत्तै प्रहरीले उनको खोजी गरेको थियो तर अहिलेसम्म फेला परेका छैनन् । उनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बाबुराम गौतमले मनाङेसँग सम्पर्कको प्रयास भइरहेको बताएका छन् । अलग–अलग सिमकार्ड प्रयोग गर्ने भएकाले सम्पर्कमा समस्या परेको उनको भनाई छ । यता, सर्वोच्चको फैसलासँगै मनाङेको सांसद पद पनि निलम्बनमा पर्ने निश्चित भएको छ । निर्वाचनसम्बन्धी ऐनमा फौजदारी कसुरमा अदालतबाट सजाय तोकिएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ । ऐनको दफा १३ मा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने प्रष्ट उल्लेख छ ।  

ऐनको यो व्यवस्थाले मनाङेको प्रदेशसभा सदस्य पदको उम्मेदवारी गैरकानुनी ठहरिने भएकाले सांसद पद निलम्बनमा पर्ने देखिन्छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि प्रदेश सभाका सभामुखले पद निलम्बन सम्बन्धी प्रक्रिया अघि बढाउने व्यवस्था छ ।  मनाङे २०७४ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । अदालतमा मुद्दा विचाराधीन रहेको र फरार अभियुक्तको सूचीमा रहेका उनले त्यतिबेला झूठा विवरण पेश गरेर उम्मेदवारी दिएका थिए। मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी २०७९ को निर्वाचनमा दोस्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । त्रिशंकु संसद्को फाइदा उठाउँदै दुवै कार्यकालमा उनी पटक–पटक मन्त्री समेत भए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७