सुदूरपश्चिमका ६ जिल्लामा माओवादी इञ्चार्ज हेरफेर, बर्षमान निकटको ‘बर्चस्व’


२०८१ असोज ८ मंगलबार १९:११ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका जिल्लाहरूमा इञ्चार्ज हेरफेर गरेको छ ।माओवादी केन्द्रले प्रदेशका नौं वटै जिल्लाका इञ्जार्चहरू हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङको सर्कुलरअनुसार कञ्चनपुरमा टेकेन्द्र भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती शाही र दार्चुला लक्ष्णदत्त जोशीले  इन्चार्जको जिम्मेवारी पाएका छन् । 

त्यस्तै अछाममा सरदसिंह भण्डारी, बभाङमा मीनबहादुर कुँवर, बैतडीमा नरेन्द्र कुँवर र बाजुरामा कर्णबहादुर विश्वकर्मालाई इञ्चार्ज को जिम्मेवारी दिएको छ । यद्यपि, कञ्चनपुरमा इञ्चार्ज रहेका भट्ट, बैतडीका  कुँवर र बाजुराका विश्वकर्मा भने पहिला पनि तिनै जिल्लामा इञ्चार्ज थिए । 

पहिला कैलालीमा हरि ज्ञवाली, डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विकले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । डोटी इञ्चार्ज रहेका शिवसिंह ओलीलाई हटाएर त्रिचोलन भट्टलाई इञ्चार्ज बनाइएको छ । ओली प्रदेशसभा सदस्य छन्  । खासमा भट्ट मुख्यमन्त्री भएको बेलामा ओली उनको सचिवालयमा थिए । भट्टले गत चुनावमा टिकट नपाएर ओलीले टिकट पाए । अनि इञ्चार्ज पनि अहिले ओली हटेपछि भट्टले पाए । 

अहिले इञ्चार्जको जिम्मेवारी पाउनेहरूमा उपमहासचिव वर्षमान पुन निकटको वर्चस्व देखिएको स्रोत बताउँछ । उपमहासचिव जनार्दन शर्मा निकटलाई विस्तारै पाखा धकेल्दै लगिएको दावी स्रोतको छ । शर्मा निकट संसदीय दलका नेता खगराज भट्टलाई हटाएका पुन निकट सांसदहरूले अध्यक्ष प्रचण्डको निर्देशन समेत अस्वीकार गरिरहेका छन् ।

भट्टलाई पुनर्स्थापित गर्न पुन निकट सांसदहरूले अस्वीकार गरिरहेका बेलामा इञ्चार्जहरू पनि पुन निकट भएपछि सुदूरपश्चिमको राजनीति थप रोचक र तरङ्गित बन्ने देखिएको छ । नौं जिल्लामध्ये पाँच जिल्ला डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकट र दुई जिल्ला कञ्चनपुर र बैतडीमा शर्मा निकट नेताले जिम्मेवारी पाएका छन् । त्यस बाहेकका दुई जिल्लामा भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङनिकट एक÷एक जनाले जिम्मेवारी पाएको स्रोतले जानकारी दिएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७