३७ करोड बढी हिनामिना आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता


२०८१ असोज ८ मंगलबार २१:१२ बजे

चितवन । चितवनस्थित साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना आरोपमा गितेन्द्र बाबु राई (जीबी) सहित १७ जनालाई विपक्षी बनाई सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिनाको आरोपमा १४ जनाविरुद्ध उजुरी दिएका थिए । त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले अनुसन्धानका क्रममा देखिएका थप तीन जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको लुईटेलले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले जीवी राईसहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।  प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणि भट्टराई कारागार छन् । अन्य १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले कुमार रम्तेलसँग मात्र वयान लिएको छ । पोखरा कारागारमा रहेका रम्तेलले आफू जीबी राईको कर्मचारी भएकाले जीबीले भने अनुसार काम गरेको बयानमा बताएका छन् ।  

साहारा सहकारीमा ६, ३३४ बचतकर्ता छन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको मागसहित उजुरी दिएका थिए । साहाराको सफटवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ । तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको मागदाबी गर्न कोही नआएको लुईटेलले जानकारी दिए । पछि जाहेरी परेको खण्डमा पुरक मुद्दामा पेश गर्ने उनले बताए ।  

गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार शंकास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  । चितवन साहाराबाट सबैभन्दा बढी रकम गोर्खा मिडियामा गएको छ । त्यसपछि जिबीकै नेचर हर्बल इन्टरनेशनल प्रा.लि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि स्प्रिड उड रियल स्टेड हाउजिङ लगायतको कम्पनीमा रकम गएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७