लेबनान वाकी–टाकी विष्फोट : घातक आक्रमणबारेका भित्रि कुरा


२०८१ असोज ३ बिहीबार ०३:२३ बजे

काठमाडौं । यो साता लेबनानभर भएको अभूतपूर्व आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी–टाकी विष्फोट हुँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भए । दुई दिनसम्म भएका यी विष्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ ।

उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र बदला लिने प्रतिज्ञा गरेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीबार राष्ट्रलाई सम्बोधन गर्ने योजना बनाएका थिए । कुनै प्रतिक्रियाको सङ्केत पाउन सकियोस् भनेर धेरैले उनको भाषणलाई ध्यानपूर्वक सुन्ने आशा गरिरहेका छन् ।     यहाँ आक्रमणहरूका बारेमा केही थाहा पाइराखौं :-

के भयो ?
मङ्गलबार हिजबुल्लाहका कार्यकर्ताहरूले बोकेको सयौँ पेजर दक्षिण बेरुत, पूर्वी लेबनान र मुलुकको दक्षिणमा समूहको गढमा लगभग एकै समयमा विष्फोट भए ।     लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बिहीबार ती विस्फोटले दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको र दुई हजार तीन सय २३ जना घाइते भएको जानकारी दिए ।  

उनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बुधबार हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको अर्को विष्फोटको लहरमा यस पटक वाकी–टाकीहरू विष्फोट हुँदा २५ जनाको मृत्यु भयो भने छ सय आठ जना घाइते भए । हिजबुल्लाहले आफ्ना २५ सदस्यको मृत्यु भएको घोषणा गरेको छ । समूहको निकट स्रोतले वाकी–टाकी विष्फोट हुँदा कम्तीमा २० सदस्यको मृत्यु भएको बताएको छ । 

एएफपीटिभी फुटेजले एउटा विष्फोटको समयमा दक्षिण बेरुतमा अघिल्लो दिन पेजर विष्फोटमा मारिएका हिजबुल्लाह लडाकूहरूको अन्त्येष्टि समारोहका क्रममा मानिसहरू आश्रय खोज्दै दौडिरहेको देखाइएको छ ।     हालैका महिनाहरूमा इजरायली आक्रमणहरूमा धेरै प्रमुख कमान्डरलाई गुमाएपछि हिजबुल्लाहलाई पहिलादेखि नै आफ्नो सञ्चारको सुरक्षालाई लिएर चिन्ता थियो । तर आक्रमणहरूको प्रकृतिले हिजबुल्लाहका गढहरूमा मात्र नभएर सम्पूर्ण लेबनानमा आतङ्कको भावना सिर्जना गरेको छ ।

इजरायलले के भनेको छ ?
इजरायलले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । यद्यपि पहिलो विष्फोटको लहरअघि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमाससँग आफ्नो युद्धको लक्ष्यलाई विस्तार गर्दै लेबनानसँगको उत्तरी मोर्चा सुरक्षित गर्ने निर्णय गरेको घोषणा गरेको थियो ।हमासको अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासद्वारा बन्धक बनाइएका सयौँ मानिसलाई फिर्ता ल्याउने र हमासलाई समाप्त पार्ने प्रतिज्ञा गरेको थियो ।

अक्टोबरपछि हमासको सहयोगी हिजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरिरहेको छ । औपचारिक रूपमा युद्धको घोषणा नगरिएको भए पनि लेबनानको मोर्चामा भएका झडपहरूले लेबनानमा अधिकांश लडाकूसहित सयौँको मृत्यु भएको छ भने इजरायली पक्षमा सैनिकसहित दर्जनौँ मरेका छन् । यी झडपले दुई पक्षका हजारौँ मानिसलाई आफ्नो घर छोड्न बाध्य पारेको छ । इजरायली रक्षामन्त्री योभ ग्यालेन्ट बुधबार आफ्नो देशको उत्तरी सीमाका सन्दर्भमा भने, ‘गुरुत्वाकर्षणको केन्द्र उत्तरतिर बढिरहेको छ ।’
 

आक्रमणहरू कसरी गरिएको थियो ?
आक्रमणहरूको प्रभावकारिता यसको असामान्य प्रकृतिबाट उत्पन्न हुन्छ । यसमा हिजबुल्लाहको सञ्चार उपकरणहरूलाई हतियारमा रूपान्तरण गरिएको थियो । विश्लेषकहरूका अनुसार विष्फोटक सामग्रीहरू हिजबुल्लाहसम्म पुर्‍याउनुअघि सम्भवतः पेजरमा राखिएका थिए । एक सुरक्षा अधिकारीका अनुसार लेबनानी अनुसन्धानका प्रारम्भिक निष्कर्षले पेजरहरूलाई ‘ट्रयाप’ पारिएको पत्ता लगाएको छ ।  

‘उपकरणहरू पूर्व–प्रोग्राम गरिएको थियो र ब्याट्रीको नजिक विस्फोटक सामग्री राखिएको थियो भन्ने डेटाले देखाउँछ’, संवेदनशील विषयमा चर्चाका लागि नाम नछाप्ने शर्तमा ती अधिकारीले भने । हिजबुल्लाहसँग निकट स्रोतले नाम उल्लेख नगर्ने शर्तमा पेजरहरू ‘हालै आयात गरिएको’ र ‘स्रोतमा तोडफोड गरिएको’ जस्तो देखिएको बतायो ।

न्युयोर्क टाइम्सले बुधबार विस्फोट भएका पेजरहरू ताइवानी निर्माता गोल्ड अपोलोबाट अर्डर गरिएको रिपोर्ट गरेपछि कम्पनीले उसको पेजरको उत्पादन हङ्गेरीको साझेदार बिएसी कन्सल्टिङ केएफटीले गरेको बताएको छ ।  बुडापेस्टमा सरकारी प्रवक्ताले कम्पनी ‘हङ्गेरीमा कुनै निर्माण वा सञ्चालन स्थल नरहेको एक व्यापारिक मध्यस्थ थियो’ भनेका छन् । जापानी कम्पनी आइकमले बुधबारको विष्फोटमा प्रयोग भएको भनिएको वाकी–टाकी मोडेलको उत्पादन लगभग १० वर्षअघि रोकिएको जानकारी दिएको छ ।

विष्फोटमा इजरायलको हात थियो ?
केही इजरायली मिडिया आउटलेट र विशेषज्ञले पेजर आक्रमणलाई मोसादको कारवाहीको स्पष्ट सङ्केत भनेका छन् । गुप्तचर एजेन्सी मोसाद सन् १९७० को दशकको प्रारम्भमा म्युनिख ओलम्पिकमा ११ इजरायली एथलिटको मृत्युमा संलग्न व्यक्तिहरूको प्रतिशोधपूर्ण हत्याजस्ता काम सम्पन्न गरेपछि प्रसिद्ध भएको छ ।  अमेरिकाको यहुदी राष्ट्रिय सुरक्षा संस्थानका जोन हान्नाले पेजर आक्रमणलाई ‘इजरायली गुप्तचर क्षमताको अर्को आश्चर्यचकित प्रदर्शन’ भनेका छन् ।

‘मोसादले आफ्नो सबैभन्दा खराब विरोधीहरूको सबैभन्दा संवेदनशील नेटवर्कमा गहिराइसँग प्रवेश गर्न बारम्बार क्षमता प्रदर्शन गरेको मात्र नभई उसले चाहेजस्तो सटीकता र मृत्युको अत्यधिक क्षमतासहितका अपरेसनलाई कार्यान्वयन गर्न पनि सक्षमता देखाएको छ’, उनले भने । यो घटना अक्टोबर ७ को आक्रमणको लगभग एक वर्षपछि आएको हो । उक्त आक्रमणलाई रोक्न असफल भएपछि इजरायली गुप्तचर सेवाहरूलाई ठूलो धक्का दिएको थियो । रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७