यस्तो देखियो ‘नेसनल डे कन्सर्ट’ {फोटो फिचर}


२०८१ असोज ३ बिहीबार ०३:४८ बजे

काठमाडौं ।  संविधान दिवसको अवसरमा दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । ‘नेसनल डे कन्सर्ट’ नाम दिइएको कार्यक्रममा ख्यातीप्राप्त गायक–गायिकाले सांगीतिक प्रस्तुती दिएका छन् । कार्यक्रममा देविका बन्दना, आनन्द कार्की, कुन्ती मोक्तान, सुगम पोखरेल, शिवानी मोक्तान, दीपक लिम्बु, स्वप्न सुमनले सांगीतिक प्रस्तुती दिएका थिए भने कुटुम्ब ब्यान्डले आफ्नो धुनमार्फत सहभागी दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । उनी जिन्स प्यान्टमै दलबलसहित कार्यक्रममा सहभागी भएका थिए । सहभागी हुने क्रममा उनले उपस्थित दर्शकहरूलाई संविधान दिवसको शुभकामना दिएका थिए । त्यस्तै अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि कार्यक्रममा सहभागी भएका थिए ।

पत्नी राधिका शाक्य र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतसँगै कन्सर्टमा पुगेका उनले त्यहाँ छोटो मन्तव्य राखेका थिए । स्टेजमा गएर राष्ट्रिय झण्डा फहराएपछि उनी फर्किएका थिए । उनी करिब ५–१० मिनेट मात्र कन्सर्टमा सहभागी भए । कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरू प्रस्तुत भइरहेका छन् । यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिएको छ ।

समाजमा योगदान गरेका १५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भइरहेको उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ । ‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र  प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति ८ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७