अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना


२०८१ असोज ३ बिहीबार ०२:२५ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् । 

अहिलेको समय एकतावद्ध हुने, आफैप्रति विश्वस्त हुने समय भएको बताउँदै उनले आफैभित्र आशाको दियो बाल्नुपर्ने बताए । उनले भने, ‘हामी संकल्प गरौं की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् ।नागरिकको हित बाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुने छैन ।’ उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्यप्राप्त गर्न साधना चाहिन्छ । अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ ।’

उनले भने, ‘हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिवद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौ । अर्को संकल्प गरौं कि हामी सुशासनप्रति प्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्य मान्यताको सीमाभित्र आवद्ध गर्नेछौं ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिवद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गरे । उनले भने, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिने छैनौं भन्ने अर्को संकल्प गर्न उनले आग्रह गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी तथा समाजक ाविभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो ।

राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ । विशिष्ट अतिथिहरूमाझ विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुति समेत देखाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७