नयाँलाई स्वागत, पुरानाको बिदाइ


२०८१ भदौ २७ बिहीबार ०१:१३ बजे

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताएका छन् । रक्षा मन्त्रालयद्वारा नव नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उनले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताए ।

मन्त्री राईले भने, ‘नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ । सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ ।’ प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्य मान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताए ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे । 

उनले भने, ‘मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने हुँदा दुवै निकयबीच  सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ ।’ निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेना जस्तो पवित्र सङ्गठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताए ।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताए । उनले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सेनाको थप सङ्गठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौँ–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्व प्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७