डिआइजीका घुमुवा लाई ‘दशा’ लागेपछि ...
काठमाडौं । जनताको सेवामा खट्नु पर्ने राष्ट्र सेवक आफ्नै र आदेशवालाको फाइदाका लागि कुद्दा सँधै कहाँ फल पाइन्छ र ? कहिलेकाँही दुःख र झमेला पनि खेप्नु पर्छ । यस्तै आपत सशस्त्र प्रहरीको कोशी प्रदेशस्थित बराह बाहिनीपति डिआइजी शम्भू सुवेदीका दुई घुमुवाले भोग्नु परेको छ ।
बराह बाहिनीमा दुई दिनअघि मात्र खटिएका घुमुवाहरु भुवन खड्का र गणेश खडेका सशस्त्र मुख्यालय तानिनु परेको छ । बाहिनीकै साथीहरुले घुमुवा खड्काद्वयले तस्करीको च्यानल मिलाएको र डिआइजीकै आदेशमा सञ्चालित भएको भन्दै ‘पोले’ पछि मुख्यालय तानिएका मात्रै छैनन् उनीहरुमाथि अनुसन्धान नै अगाडि बढेको छ ।
मोरङका एसपी विश्व खड्काले कडाई गर्न थालेपछि डिआइजी सुवेदीकै आदेशमा उनीहरुलाई मुख्यालयमा स्पष्टीकरण दिन पठाइएको थियो । तर, कमजोरी बाहिनीपतिको पनि प्रमाणित भएपछि भुवन र गणेशलाई पूर्ववत रुपमा खटाइएको छ । तर, उनीहरु निगरानीमै रहेको स्रोतले जानकारी दिएको छ । खड्काद्वयको ‘खेलफड्को’ चलखेलपछि झापा र इलामका सशस्त्र प्रहरीका एसपी समेत मुख्यालयले निगरानी परेका छन् । मधेश प्रदेशमा पछिल्लो समय तस्करी मौलाएको छ । धनुषामा तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले निगरानी बढाएको छ । जनकपुर भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी मौलाइरहेको स्थानीय ब्यापारीले गुनासो गरिरहेका छन् ।
सशस्त्र प्रहरीका एसपी दर्शन गिरी पुग्ने वित्तिकै केही दिन सीमा नाकाहरू ठप्प पारे । पछि तस्करी तथा ठूला व्यापारीहरूसँग कुरा मिलेपछि धनुषाका विभिन्न नाकाबाट व्यवस्थित तस्करी बढेको स्थानीयको आरोप छ । सशस्त्र प्रहरीले धनुषाभरका लागि तीन जना घुमुवा राखेर अतिरिक्त आर्थिक उपार्जनका लागि सीमा नाका खुल्ला गरेको स्रोतको दावी छ । नाकामा अतिरिक्त आम्दानीका लागि च्यानल नै सेट गरिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जटही छोटी भन्सारमा कार्यरत जगदीश दासले जटहीदेखि धनौजीसम्मका व्यापारीहरूको लाइन मिलाइ रहेका छन् । धनौजीदेखि खजुरी, इनरुवासम्मको लाइन मिलाउने जिम्मा मूल भन्सारका सुब्बा रामेश्वर चौधरीले गरिरहेको सशस्त्र प्रहरीकै एक अधिकृतले सुनाए ।
सुरेश साह, गफार मियाँ, अमोध यादवसहित अन्य व्यापारीहरूसँग मोटो रकम लिई राति तस्करी गराउँदै आएको एक व्यापारीले मुख्यालयमा उजुरी गरेको स्रोतको दाबी छ । भारतबाट आयात हुने एसबेष्डस, तेल, गुट्खालगायत कतिपय घरायसी सरसमान प्रतिबन्ध भए पनि अहिले यिनै सरसामानको बढी तस्करी भइरहेको स्रोत बताउँछ । व्यापारीको उजुरीपछि सशस्त्र मुख्यालयले दुई पटक एसपी गिरीलाई सोधुपुछका लागि बोलाएको थियो । उनी शक्ति केन्द्रको दबाबमा पुन धुनषा जान सफल भएको स्रोतले जानकारी दिएको छ ।
उनीमाथि मैनाथपुर प्रस्तावित सीमा सुरक्षा बेस बोर्डटर आउट पोष्ट (बीओपी) मा कार्यरत डिएसपी भरत गौतमलाई परिचालन गरी तस्करीसँग साँठगाँठ गर्ने गरेको आरोप छ । धनुषाको अर्को नाका जटहीबाट पनि तस्करी हुने गरेको भन्दै छिन्नामस्त बाहिनीले पनि एसपी गिरीलाई स्पष्टिकरण सोधेको थियो । तर उनले आफू पूर्व प्रधानमन्त्री प्रचण्डको नजिक रहेको देखाएर कारवाहीबाट जोगिंदै आएको स्रोत बताउँछ । शैलेन्द्र खनाल आइजीपी हुँदा पनि प्रचण्डको दबाबमा रसुवा बसेका गिरीले कार्यदलमा आएपछि काठमाडौको सानो भर्याङमा घर बनाउँदा कार्यदलका सिपाही प्रयोग गरेको उजुरी परेको थियो ।
भारतको विहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँ सहरमा पु¥याउँदै आएका छन् । यी नाका भएर पारीबाट दैनिक उपभोग्य सामग्री चिनी, प्याज, आलु, दाल, चामल, धान, लताकपडा, तेलसहित लागुऔषध, मोटरपार्टस्, कस्मेटिक्सका सामान तस्करी भएर वारीका सहर ल्याउने गरेको पाइएको छ ।
पछिल्लो समय लाइटर (ग्यास चुलो बाल्ने), टुथपेस्ट, कपालमा लगाउने तेलको भारत तस्करी यस भेगका लागि नयाँ कारोबार बनेको स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी गिरीले घुमुवा परिचालन गरी तस्करीको लाइन क्लियनर गरिदिएको बताइएको छ । एसपी गिरीले सहायक हवलदारहरू ध्रुव खड्का र लीला भुजेललाई घुमुवा राखेको स्रोत बताउँछ । गणको मूल गेटमा उनीहरुलाई देखाउनका लागि ड्युटीमा राखिए खास काम भने तस्करहरूसँग सेटिङमै मिलाउनु रहेको स्रोत बताउँछ । खड्का यसअघि पाँच वर्षदेखि खजुरी बीओपीमा सादा पोसाकमै परिचालित थिए । एसपी गिरीले ८ नम्बर गणको कमाण्ड सम्हाल्ने बित्तिकै खड्का र भुजेललाई तस्करहरूसँग सेटिङमा परिचालन गरेको स्रोतको दावी छ ।