‘टीआरसी’ मा आज दलहरुले जुटाउलान् सहमति ?
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । बैठक गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन् । दलका नेताहरुले आजको बैठक सहमतिको लागि निर्णायक हुन सक्ने बताएका छन् । बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, पूर्व कानूनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवनप्रसाद दाहाललगायत पनि सहभागी छन् । बैठकमा विधयेक सम्वन्धी सहती जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ ।
कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । अदालतले नै यसमा विवेक पुर्याउने तर्क गरिएको छ । तर, यो विषयमा के कस्तो भाषा प्रयोग गर्ने भन्ने टुंगो लागेको छैन ।
सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत देखिएका छन् । नेताहरुका अनुसार बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।
.gif)

.png)

