‘टीआरसी’ पदाधिकारीमा ४० जनाको नाम छनोट


२०८१ मङ्सिर २१ शुक्रबार १८:४८ बजे

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गठन भएको समितिले ४० जनाको नाम छानेको छ । समितिले अध्यक्षमा मात्र ८ जनाको नाम तय गरेको हो । समितिले मंसिर ३० गतेभित्र सरकारलाई सिफारिस गर्ने जनाएको छ ।

कानुन मन्त्रालयमा आज बसेको संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठकले दाबेदारहरुको संक्षिप्त सूची सार्वजनिक गर्ने निर्णय गरेको हो । दुवै आयोगका अध्यक्षका लागि अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिंजापति र विश्वराज कोइरालाको नाम परेको छ ।

त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र काशीराज दाहाल, सुदीप पाठक र शेरबहादुर केसीको नाम छ । दुवै अध्यक्षका लागि छनोट सूचीमा परेका अच्युतप्रसाद भण्डारी र विजयसिंह सिंजापतिलाई सदस्यमा पनि राखिएको छ । सिफारिस समितिले भोलि छनोट सूचीमा परेकाहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।

आयोगको पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो । त्यसमध्ये सिफारिस समितिले अध्यक्षमा ८ सहित ४० जनाको नाम संक्षिप्त सूचीमा समेटेको हो । अब समितिले संक्षिप्त सूचीमा परेकाहरुमाथि दाबी विरोधका लागि पाँच दिनको समय दिएर नाम सार्वजनिक गर्ने छ । उनीहरुलाई तीन दिन विषयवस्तु प्रस्तुतिको समय दिइने छ । त्यसपछि समितिले दुई अध्यक्ष र ८ सदस्यको नाम सरकारलाई सिफारिस गर्ने छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झण्डै ६३ हजार र बेपत्ता छानबिन आयोगमा ३ हजारभन्दा धेरै निवेदन परेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७