माधव नेपालको दाबी : हाम्रो पार्टीभित्र विचारमा कुनै मतभेद छैन


२०८१ असार ३ सोमबार ०६:३२ बजे

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्ताबेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे ।

उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायता दस्ताबेजहरूको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौं । त्यतिखेरै हामीले घोषणा पत्र जारी गर्दाखेरि वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौं । पार्टीमा विभिन्न पक्षहरूबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौं ।’

उनले थपे, ‘स्वाभाविक रुपमा पार्टीको महाधिवेशनले यी विचारहरूलाई व्यवस्थित रूपले अघि सार्नुपर्ने आवश्यकता पर्दछ । त्यसो हुनाले हामीले यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै हामीले दस्ताबेजहरू अगाडि सारिरहेका छौं । यस अर्थमा तपाईँहरूले पनि अझै यसलाई अध्ययन गर्नुहोस् । यसलाई समृद्ध बनाउनका लागि भुमिका खेल्नुहोस् । यसरी हाम्रो पार्टीले अरु पार्टीहरूका लागि पनि यसरी विचार अघि सार्ने काममा अग्रसरता लिनुपर्छ भन्ने प्रेरित गर्न सकोस् ।’ अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७