काले सार्कीको अपराधमा कृष्णबहादुरलाई २० वर्ष सजाय, थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काले सार्कीको ठाउँमा कृष्णबहादुर कार्कीलाई पक्राउ गरेपछि थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश प्रकाश कुमारढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमवार बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै कृष्णबहादुर सार्कीलाई हिरासतमुक्त गर्न आदेश गरेको हो ।
२०४२ जेठ १२ मा अन्तिम फैसला भएको मानव वेचविखन मुद्दामा कसुर कायम भई सजाय पाएका काले सार्की र हाल सोही काले सार्की भनी थुनामा रहेका निवेदक बन्दी कृष्णबहादुर श्रेष्ठ एकै व्यक्ति हुन् भन्ने प्रमाणबाट पुष्टि नभएको अदालतको आदेशमा उल्लेख छ । ‘यस्तो अवस्थामा निजलाई राखिएको थुना वैध वा कानूनी थुना भन्न नमिली गैरकानूनी थुना देखिन आएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदक बन्दी आजै थुनामुक्त हुने ठहर्छ,’ सर्वोच्चले आदेश गरेको छ ।
कृष्णबहादुर सार्कीलाई गाईने सार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी काले सार्की समेत भएको मानव बेचविखन मुद्दामा प्रतिवादी काले सार्कीलाई अन्तिम फैसला समेतबाट ठहर भएको कैद वर्ष २० कार्यान्वयनका लागि पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०८० फागुन ११ मा कैदपुर्जी समेत दिइएको कार्य गैरकानूनी रहेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा परेको थियो ।
‘मानिसको पहिचान नै नगरी काले सार्कीको नाउँको कैदमा अर्कै व्यक्ति मेरो बुबालाई पक्राउ गरी कैदीपुर्जी दिई थुनामा राखेको हुँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ,’ रिटमा उल्लेख छ । सोही रिटउपर भएको सुनुवाई भएपछि सर्वोच्च अदालतले रिटबमोजिम नै आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘यी निवेदक बन्दीलाई ठहर भएको भनिएको मानव वेचविखन मुद्दाको मिसिल अध्ययन गर्दा, प्रहरी प्रतिवेदनमा काले सार्की विरूद्ध अभियोजन गरिएको देखिन्छ । काले सार्की भन्ने कृष्ण बहादुर सार्की भन्ने सो मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न आएको वा देखिएको अवस्था छैन ।’
हेर्नुस् आदेश

