कालापानी क्षेत्र भारतको भएको सन्देश दिने गरी नरेन्द्र मोदी नेपाली भूमिमा, नेपाल सरकार बेखबर


२०८० असोज २५ बिहीबार २३:५६ बजे

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबार नेपाली भूमी दार्चुलाको कालापानी– लिम्पियाधुरा क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी भए । कालापानी– लिम्पियाधुरा क्षेत्रका स्थानीय वासिन्दासँग संवाद गरे, सुरक्षाकर्मीहरुसँग अन्तरक्रिया गरे, मन्दिरको दर्शन गरे ।

नेपाली भूमि कालापानी– लिम्पियाधुरा क्षेत्रमा खिचिएको आफ्नो तस्बीर पोष्ट गर्दै विहिबार साझ लेखेका छन्, ‘उत्तराखण्डको पिथौरागढको पवित्र पार्वती कुण्डमा दर्शन र पूजा गर्दा म अभिभूत छु। यहाँबाट आदि कैलाशको दर्शन गर्दा मन पनि हर्षित हुन्छ । प्रकृतिको काखमा अवस्थित यस अध्यात्म र संस्कृतिको ठाँउबाट यहाँका परिवारजनको सुखमय जीवनको कामना ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै स्थानीयवासीहरु, जो नेपालद्धारा जारी नक्सा अनुसार नेपाली नागरिकहरु हुन्

प्रधानमन्त्रीले मोदीले आफ्नो भूमी भएको सन्देश दिने गरी राखेका यी क्षेत्रहरुलाई नेपालले औपचारिक रुपमा आफ्नो नक्सामा समेटेको छ । नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको भन्दै नक्सा जारी गरेको छ । जारी नयाँ नक्सामा गुन्जी, नाभी र कुटी गाउँ समेटिएको छ । प्रधानमन्त्री मोदीले विहिबार आज यही क्षेत्रमा भ्रमण गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले विहिबार पार्वतीकुण्डमा पूजा गर्ने र गुन्जी गाउँका बासिन्दाहरूसँग अन्तरक्रिया गर्ने तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी अवलोकन गरेका छन् । तर नेपाली भूमीमा भारतीय प्रधानमन्त्री मोदीले भ्रमण गर्दा नेपाल सरकार भने बेखबर रहेको पाइएको छ । यस क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे भारतले नेपाललाई औपचारिक जानकारी नगराएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।

दार्चुला जिल्लाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतीय पक्षले उक्त भ्रमणबारे केही जानकारी नदिएको स्थानीय सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले गुन्जीमा तिब्बतसँगको सीमामा खटिएका भारतीय सैनिकहरू र सीमामा सडक निर्माणमा संलग्न निकायका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको तस्बिरहरु सामाजिक सञ्जालमा राखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७