स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

काठमाडौं । स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमलाई पूर्व प्रेमीले लगाएको यौन दुर्व्यवहारको मुद्दा लण्डनको एक अदालतले खारेज गरिदिएको छ ।
यौन उत्पीडनको आरोपको मुद्दा लण्डनमा सुनुवाइ हुन नसक्ने न्यायाधिस रोवेना कोलिन्स राइसले फैसला सुनाएको बीबीसीले जनाएको छ । इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायनले सन् २०१२ मा सम्बन्ध बिग्रिएपछि कार्लोसविरुद्ध १२ करोड ६० लाख पाउण्डभन्दा धेरै क्षतिपूर्ति माग गरी मुद्दा हालेकी थिइन् ।
‘इङ्ल्याण्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन’ लिखित फैसलामा भनिएको छ । यो फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गरेका छन् । सन् २०१४ मा गद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजा कार्लोसले जासुसी र उत्पीडन गरेर आफूलाई ठूलो मानसिक पीडा दिएको सायनको आरोप छ । एजेन्सी