दार्चुलामा ८५ वर्षीया एकल वृद्धाको चक्कु हानी हत्या, घर नजिकै खोल्सामा भेटियो शव
दार्चुला । दार्चुलामा एक एकल वृद्धाको हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दका चक्कुले प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार वृद्धाको शव सोमबार घरभन्दा २ सय मिटर पर खोल्सामा फेला परेको छ । चन्दको घाँटी र छातीमा चक्कु प्रहार भएको छ । वृद्धा टोपालीस्थित घरमा एक्लै बस्थिन् । शनिबारदेखि उनी सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरी चौकीमा निवेदन दिएका थिए ।
उनको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक रुपमा हेर्दा हत्या जस्तो देखिन्छ, हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘पोस्टमार्टम रिपोर्टले पनि थप खुल्ला ।’