पार्टीमा काम नगर्ने, पैसाको चलखेल मात्रै गर्नेलाई पाखा लगाउनु पर्छ : नेता सिंह


२०८० श्रावण ३० मंगलबार ०३:५७ बजे

काठमाडौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’ मा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन् । ‘पार्टीका नेता–कार्यकर्ता जनताको घरदैलोमा पुगेर उहाँहरुको समस्या समाधानमा लागे मात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ’, उनले भने ।

नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै आउने गरी काम गर्न उनले सुझाव दिए । ‘पार्टीभित्र काम नगर्ने तर पैसाको चलखेल गर्ने व्यक्तिलाई पाखा लगाउनु पर्छ, पार्टीभित्रबाटै उक्त अभियान चलाउनु पर्छ’, उनले भने ।

पूर्व उपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरे मात्र पार्टी थप बलियो र मजबुद हुने भनाइ व्यक्त गरे । उनले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजान सके मात्र आगामी निर्वाचनमा बलियो हुने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७