काठमाडौं, २० बैसाख । साढे ३३ किलो सुन तस्करीको आरोपमा प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भइसकेको छ ।
मुद्दाको बयान शुरु भएसँगै यो घटनासँग जोडिएका नयाँ–नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । बुधबार जिल्ला अदालत मोरङमा दायर भएको अभियोगपत्रमा उल्लेख भए अनुसार डायरीमा लेखेर नै तस्करहरुले प्रहरीलाई पैसा वितरण गर्ने गरेको तथ्य प्रमाण भेटिएको । कतिपय प्रहरीले विमानस्थलबाट सुन बाहिरसम्म ल्याई दिने गरेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि सुन तस्करी गर्दै आएको समूहले २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बाँडेको खुलेको छ । एसएसपी श्याम खत्रीले तस्करहरुसँग एकै पटक एक करोड रुपैयाँभन्दा धेरै लिएको छानबिनका क्रममा फेला परेको छ । गिरोहका सदस्यबाट बरामद भएको डायरीका आधारमा सो तथ्य खुलेको हो ।
पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख र कल डिटेललाई छानबिन समितिले प्रमुख प्रमाण मानेको छ । प्रहरी अधिकारीहरुले नै अनाधिकृत रुपमा पास दिएर तस्करीमा सघाउने गरेका थिए ।
सुन तस्करबाट कसले रकम कति लिए ?
एसएसपी श्याम खत्रीले तीन पटक गरेर एक करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको छ । एकै पटक उनले एक करोड एक लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ । त्यस्तै खत्रीले तस्करहरुसँग एक पटक ७ लाख र अर्को पटक ४ लाख रुपैयाँ लिएका थिए ।
जवान खड्काले पनि खत्रीकै नाममा पैसा लिने गरेका थिए । त्यस्तै, मुद्दा दायर भएका अम्बरबहादुर मगरलाई पनि उनले नै तस्करलाई सहयोग गर्न खटाएका थिए । प्रतिवादीमध्ये जवान विष्णुबहादुर खड्काले दुई पटक गरेर १९ लाख रुपैयाँ लिएका थिए ।
पूर्व डिआइजी गोविन्द निरौलाले एक पटक ८ लाख र अर्काे पटक ९ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको छ । एसपी विकासराज खनालले एक पटक ४ लाख र अर्काे पटक १ लाख रुपैयाँ गरी ५ लख लिएको देखिन्छ ।
डिएसपी सञ्जय राउतले एक पटक ३ लाख र अर्काे पटक १२ लाख रुपैयाँ लिएका थिए । रजिस्टर र डायरीमा लेखेरै उनीहरुलाई पैसा दिइएको थियो । सोही प्रमाणका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रहरीमध्ये सई बालकृष्ण सञ्जेलले समेत २ वर्षदेखि गिरोहका नाइके चुँडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार गर्दै आएको उल्लेख छ । एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन । अनुसन्धानमा लापर्बाही गरेकै आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।
यस्तो छ जिल्ला अदालत मोरङमा पेस गरिएको प्रमाण