चराको स्वर्ग पुरैनी तालमा जलपंक्षी घट्दै


२०७९ फाल्गुण १३ शनिबार १५:२१ बजे

कञ्चनपुर । चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा जलपंक्षीको संख्या घट्दै जान थालेको छ ।

हिउँदका बेला बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरै मात्रै जलपं्क्षी आएका छन् । ताल र त्यसको वरिपरिको क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि तालमा चराका प्रजाति घट्दै गएका हुन् । पहिला ३२ बिघा क्षेत्रफल भएको ताल खुम्चिँदै गएर २८ बिघामा सीमित भएको छ ।

चरा तालमा लामबद्ध भएर पौडिँदै, डुबुल्की मार्दै गरेको र ताल वरिपरि उड्दै गरेको दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ । ‘चिसो मौसम सुरु हुनै लाग्दा पहिला पहाड छिचोल्दै ठूलाठूला हाँस प्रजातिका चरा तालमा आइपुग्थे’, स्थानीय बासिन्दा खड्कबहादुर चन्दले भने, ‘गर्मी सुरु हुन थालेपछि मात्रै फर्कन्थे, पहिलेको जस्तो जलपंक्षी आउने क्रमम केही वर्ष कम हुँदै गएको छ ।’ ‘तालभरि कमल फुलेर मनमोहक हुन्थ्यो, त्यसमा चरा रमाउँदै गरेको दृश्यकले यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्थे, तालमा हुने कमल हरायो, चरा पनि हराउँदै गएका छन्’, उनले भने ।

उनका अनुसार तालमा माछाका धेरै प्रजाति पाइने गरेका थिए । एउटै माछाको तौल पाँच किलोमाथि नै हुन्थ्यो । अहिले पनि तालमा एक किलोसम्मका माछा पाइने गरेका छन् । तालमा भएका माछा र चरालाई निकटवर्ती क्षेत्रका भारतीयले आएर मार्ने गरेको लक्ष्मण खत्रीले बताए । ‘ज्ञलुकिछिपी आएर चरा मार्छन्, विषादीको प्रयोग गर्छन्’, उनले भने, ‘माछा पनि मारेर लैजान्छन् ।’

ताल संरक्षणमा कुनै पनि निकायले चासो नदिँदा ताल खुम्चिँदै जान थालेकोप्रति उनले चिन्ता व्यक्त गरे । तालमा ४८ प्रजातिका जलपंक्षी पाइने गरेका छन् भने रैथाने जातका १० बढी प्रजाति पाइने गरेका छन् । मंसिर र पुस महिनामा चराको चाप ताल क्षेत्रमा अधिक हुन्छ भने, गर्मी बढ्दै जाँदा चराका प्रजाति पुरानै क्षेत्रमा फर्कंने भएकाले घट्छन् ।

हाल तालमा जलपक्षीको संख्या घटेर २० देखि ३० हाराहारीमा मात्रै देखा पर्ने गरेको स्थानीयको भनाइ छ । चराको बासस्थानमा खलल पुगेपछि जलपंक्षीको संख्या घट्दै गएको नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले बताए ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी ताल पछि जलपंक्षीका धेरै प्रजाति पाइने पुरैनी हो’, उनले भने, ‘चराको बासस्थान व्यवस्थापन, ताल प्रति वर्ष मासिँदै जान थालेकाले यसको सिमाङ्कनको काम गर्नुपर्छ, निकुञ्ज बाहिर रहेको ताल भएकाले स्थानीय तहले विशेष चासो दिनुपर्छ, यो सबैको सम्पदा हो, संरक्षण गरिनु पर्छ ।’

गत वर्ष बेलौरी नगरपालिकाले ताल क्षेत्रको केही भागलाई पोखरी बनाई आयस्तरमा वृद्धि गर्नका लागि सिद्देश्वर सहकारी संस्थालाई प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजनाअन्तर्गत रु दुई लाख ३१ हजार छ सय ५० अनुदान रकम उपलब्ध गराई तीन वटा पोखरी निर्माण गरी माछापालन गरिएको थियो । जसबाट सहकारीले रु दुई लाख एक हजार पाँच सय २० रकम आम्दानी गरेको थियो ।

स्थानीयले तालमा माछापालनको काम गरेपछि विरोध गरेपछि यस वर्ष भने माछापालनको काम गरिएको छैन । ‘नगरपालिकाले ताल संरक्षण र माछापालनको जिम्मा दिएपछि गत वर्ष चरा संरक्षण गर्नका लागि एक जना व्यक्तिलाई खटाएको थियौं’, उनले भने, ‘यस वर्ष माछापालनको काम गरिएको छैन ।’

‘पहिला धेरै चरा तालमा आउँथे’, उनले भने, ‘जलवायुको असर हुन सक्छ, त्यसैले चरा कम आएका हुन सक्छन्, चराको आहाराको कमी हुन सक्छ ।’ तालको अर्को समस्या भने जलकुम्भीको रहेको छ । ताल पुरै जलकुम्भीले भरिँदै गएको छ । तालको पानी स्थानीयले खेतमा सिँचाइ गर्नका लागि प्रयोगमा समेत ल्याउने गरेका छन् ।

स्थानीय थारु भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको स्थानीय बासिन्दाको भनाइ छ । नगरपालिकाका नगर उपप्रमुख कुलवीर चौधरीले तालको जैविक विविधता नष्ट हुन नदिनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

‘संरक्षणको कामलाई गम्भीरतापूर्वक लिएका छौं’, उनले भने, ‘माछा मार्न पूर्णरुपमा निषेध गरेका छौँ, खेतीयोग्य जमिन सिमसार भयो भन्ने स्थानीयको गुनासो छ, त्यस कुरालाई पनि सम्बोधन गर्छौं ।’ ताल र सीमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना रहेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७