बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेशिन


२०७९ बैशाख १६ शुक्रबार १५:२३ बजे

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैंयाको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शैंयाको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शैंयासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेशिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । २० शैंयामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेशिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको २३ वर्ष भइसकेको छ ।

सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शैंयाबाट सुरु गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा. सञ्जीवकुमार शर्माले सोही अस्पालबाट आफैले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गरेका थिए ।

सन् २००२ देखि प्रतिष्ठानमा शुरु भएको यो विधि पाँच वर्षसम्म अरु कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलाइसिस मेशिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलाइसिस युनिटको स्थापना गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७