श्रम स्वीकृति पनि बन्द गर्ने तयारी
काठमाडौं, २१ बैसाख । कोरोना संक्रमणले भयावह रुप लिन थालेसँगै सरकारले वैदेशिक रोजगारीका लागि जानेलाई बिहीबारदेखि श्रम स्वीकृति दिन बन्द गर्ने तयारी गरेको छ ।
यस विषयमा निर्णय गर्न बुधबार मन्त्रालयमा बैठक बस्ने तयारी भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन् । ‘आधिकारिक निर्णय भोलि नै हुन्छ, तर अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको अवस्थामा श्रम स्वीकृति दिइरहन सकिँदैन । अहिले नै पूर्व स्वीकृतिहरु कम गरेका छौं, आज भोलि नै फ्लाइट छ भन्नेहरुलाई दिइरहेका छौं’, महानिर्देशक दवाडीले भने ।
श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले पनि श्रम स्वीकृति के गर्ने भन्ने विषयमा विभागसँग कुरा भइरहेको र भोलि विभागले प्रस्ताव लिएर आएपछि निर्णय हुने बताएका छन् । सरकारले वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।
आन्तरिक उडान बन्द भइसकेका छन् भने बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुँदैछन् । यस्तो अवस्थामा श्रमिक जान नसक्ने भएकाले श्रम स्वीकृति पनि रोक्ने तयारी भएको हो ।
गत वर्ष पनि अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सरकारले श्रम स्वीकृति पनि बन्द गरेको थियो । नियमित उडान बन्द भएपनि चार्टर्ड र उद्धार उडान भने कायम रहने छन् । चार्टर्ड उडानमार्फत आउजाउ गर्नेलाई पनि मापदण्ड तोकिएको छ । १० दिन आफ्नै खर्चमा अनिवार्य होटल क्वारेन्टिन बस्नु पर्नेछ ।