अख्तियार प्रमुखमा प्रेमकुमार राईसहित संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ
काठमाडौँ, २१ माघ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा उनीहरूले सपथ लिएका हुन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये आज ३८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन्।
विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तथा सदस्यहरूलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ खुवाएका छन् ।

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो। पुस ५ गते उनीहरूको सिफारिससम्बन्धी जानकारी सार्वजनिक भएको थियो।
संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीलाई शपथ गराइएको हो । मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । उनीहरुले अध्यादेश नै संविधानको मर्मविपरीत रहेको भन्दै अध्यादेश खारेजी र उक्त अध्यादेश अन्तर्गत भएका सिफारिस बदरको माग गरेका छन् ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार नियुक्ति फिर्ता गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ ।
सुनुवाई समितिमै नपुगी ४५ दिन पु-याएर अनुमोदनविनै नियुक्त गरिनु अवैधानिक हुने तर्क कानुनविद्हरूको छ । विद्यमान कानुनी व्यवस्थालाई संशोधन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै यो नियुक्तिको विरोध समेत भइरहेको छ ।
.gif)

.png)

