विश्वमा एकै दिन थपिए दुई लाख आठ हजार संक्रमित, पाँच हजार १४५ को मृत्यु
काठमाडौं, १९ असार । विश्वभर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउनुको सट्टा झन विस्तार हुँदै गइरहेको छ ।
गएको २४ घण्टामा विश्वभर २ लाख आठ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ । त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ ।
संक्रमण तीब्र बन्न थालेपछि अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाई गर्न थालेका छन् । गएको २४ घण्टामा विश्वभर पाँच हजार १४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । आज (शुक्रबार) विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार २३२ पुगेको छ ।
अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ । अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा १३१ हजार भन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा झण्डै ६२ हजारले ज्यान गुमाइसकेका छन् ।
गएको २४ घण्टामा ब्राजिलमा एक हजार २७७, अमेरिकामा ६८०, मेक्सिकोमा ७४१, भारतमा ३७७, रुसमा १४७, पेरुमा १८५, चिलीमा १६७, इरानामा १४८, कोलम्बियामा १७१, इराकमा ११० जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार २२५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ । बिहीबार एकै दिन भारतमा २१ हजार ९४८ जना नयाँ संक्रमित थपिएका छन् ।