कोरोना कहर : मापसे चेक र सचेतना कक्ष बन्द


२०७६ चैत ७ शुक्रबार ०५:१६ बजे

काठमाडौं, ७ चैत । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई मूल्याङ्कन गर्दै ट्राफिक महाशाखाले मादक पदार्थ सेवन (मापसे) चोकजाँच स्थगित गरेको छ ।

मापसेलगायत अन्य चेकिङहरू अति आवश्यक अवस्था बाहेक नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।
यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसेलगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाई दिन पनि महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै सार्वजनिक सवारी साधनलाई कोभिड – १९ (कोरना) भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे–नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।

एसपी श्रेष्ठले भने, ‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं ।’

महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा शुक्रबार विहानैदेखि साबुन–पानीले हातधुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।

‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि विशेष अभियानमा ट्राफिक प्रहरी परिचालित गरिसकेको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ,’ श्रेष्ठले भने ।

यस्तै कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले भिडभाड कम गराउने गरी प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली शुक्रबारदेखि खटाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

सचेतना कक्षा पनि बन्द
ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा समेत तत्काललाई स्थगित गरेको छ ।

महाशाखाका प्रमुख ढकालले भने – ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ ।’
ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लैजान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७