भ्यालेन्सियासँग हारे रियल मड्रिड
काठमाडौ, २१ चैत (एजेन्सी) । रियल मड्रिडले ला लिगामा सिजनको नवौं पराजय ब्यहोरेको छ । बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग २–१ गोलको हार ब्यहोरेको हो ।
जिनेदिन जिदानको पुनरागनपछि रियलले पहिलो पराजय ब्यहोरेको हो । एकपछि अर्को खेलमा खराब नतिजा ल्याएपछि रियलले सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै जिनेदिन जिदानलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र इजेक्यल ग्यारेयले गोल गरे । यता, रियलका लागि करिम बेन्जिमाले गोल फर्काएका थिए ।
खेलको ३५औं मिनेटमा गुइडेसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनै गोलको आधारमा भ्यालेन्सियाले रियलमाथि १–० गोलको अग्रता बनाएको थियो ।
८३औं मिनेटमा ग्यारेयले गोल गर्दै भ्यालेन्सियालाई २–० गोलको अग्रतामा र्पुयाए । खेलको अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै २–१ को स्थितिमा र्पुयाएपनि रियलको हार टार्न सकेन ।
लिगमा ८ खेल बाँकी छँदा रियल तेस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनासँग १३ अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक छ ।
यसैगरी भ्यालेन्सिया पाँचौं स्थानमा उक्लिएको छ र उसको ३० खेलबाट ४६ अंक छ । तेस्रो स्थानको गेटाफेभन्दा १ अंकले पछि छ ।