आँधीहुरी प्रभावित क्षेत्र जाँदै प्रचण्ड


१८:३० बजे

काठमाडौं, १९ चैत : नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्सा राहत लिएर जाने भएका छन् । आँधीहुरी प्रभावित क्षेत्रमा राहत सहित प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रचण्ड बारा र पर्साका प्रभावित क्षेत्रमा नै पुग्नेछन् । घाइते र प्रभावितहरुलाई भेटेर उनीहरुको अवस्था बारेमा जानकारी लिनेछन् । आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन रहेका छन् ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विद्युत्को खम्बा ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरी कलैया, वीरगञ्जलगायत अस्पताल भर्ना गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । साथै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७