अब सबै मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीमा, सेवाग्राहीले छिटो सेवा पाउने
काठमाडौं, ३ चैत । सरकारले एक वर्षभित्रै सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्षभित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने जानकारी दिएकी छन्
आइतबार कलंकीस्थित मालपोत कार्यालयमा शुरु गरिएको सुधारका प्रयासहरुको निरीक्षण गरेपछि अर्यालले सो कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने, त्यसपछि असार मसान्तभित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्षभित्र देशभरका सबै मालपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने योजना रहेको सुनाइन् ।
मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् । सुशासन र सेवाग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीथित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाई छ ।
कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ । मन्त्री अर्यालले कलंकीपछि डिल्लीबजार र त्यसपछि चावहिलमा रहेको मालपोत कार्यालयको सेवामा तत्काल सुधार ल्याउन सुधारका पहलहरुलाई अघि बढाइएको पनि स्पष्ट गरिन् ।
.gif)

.png)

