विप्लवको विद्रोह कुशासन र भ्रष्टाचारको असन्तुष्टि : डा. भट्टराई


२०७५ फाल्गुण २८ मंगलबार ०३:५८ बजे

राजविराज, २८ फागुन । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको माओवादीको विद्रोह कुशासन र भ्रष्टाचारको असन्तुष्टि भएको औंल्याएका छन् ।

सरकारले देशमा देखिएका असन्तुष्टिहरुलाई सानो ठानेर समयमै सम्बोधन गर्न नसके यस्ता असन्तुष्टि थप बलियो बन्दै जाने बताए ।

सप्तरी सदरमुकामका सञ्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले जनताको चाहना अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सिर्जना नभएका जनतामा निरासा पैदा हुने र विप्लव जस्तै समूहहरुलाई फाइदा पुग्ने बताए । उनले भने, ‘विप्लव विद्रोहको संकेत पनि यिनै असन्तुष्टिहरु हुन् ।’

सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी र समृद्धिका कामहरु गर्न सके मात्र तल्लो तहका नागरिकको असन्तुष्टिहरु कम हुँदै जाने उनले बताए । डा. भट्टराईले भ्रष्टाचार नेपालमा गम्भिर समस्याको रुपमा देखिएको बताउँदै यसलाई नियन्त्रण गर्ने काममा सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘क्यान्सरको उपचार झारफुक गरेर हुँदैन । अप्रेसन नै गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भए, कार्यपालिका लाचार छायाँ जस्तै भए ।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गर्नुपर्ने बताए ।

वर्तमान सरकार काण्डै काण्डमा फसेको आरोप लगाउँदै डा. भट्टराईले भने, ‘अहिलेको सरकार एनसेल काण्ड, वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड लगायतका काण्डैकाण्डमा फसेको छ । जसले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ ।’

सरकार असफल हुँदै गएको दावी गर्दै उनले सरकारले विकास खर्च पनि गर्न नसक्ने र राजश्व पनि अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर आफ्नो कमजोरी सावित गरिसकेको बताए । पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीका विषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोप लगाएका छन् ।

सिके राउतलाई सरकारले सेटिङ गरेर रिहा गरेको आरोप लगाउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास हुने ?’

उनले टीकापुरमा सुरक्षाकर्मी मारिनु दुखद भए पनि टीकापुर घटना राजनीतिक विद्रोह भएकाले सोही अनुरुप व्यवहार हुनुपर्ने धारणा राखे । संविधानमै रहेको अपूर्णताका कारण तराई–मधेश र जनजाति बाहुल्य क्षेत्रमा असन्तुष्टि कायमै रहेको बताउँदै उनले भने, ‘मैले पहिला नै भनेको थिएँ यो संविधान आधा गिलास भरेको आधा गिलास खाली जस्तै छ। त्यसैले अब खाली आधा गिलास पनि भरिनुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७