अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गरेका छन् ।

मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याए ।
अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए । राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए ।
उनले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको पनि बताए ।