काठमाडौं, ८ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले एक निजी विद्यालयले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै बांग्लादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्राहरूले अध्ययनपछि प्रमाणपत्र पाउन अस्मिता बेच्न बाध्य हुने गरेको भन्ने आशयसहितको टिप्पणीप्रति छात्राहरूले आक्रोश व्यक्त गरेका छन् ।
जिम्मेवार पद धारण गरेको व्यक्तिबाट भएको विवादास्पद टिप्पणी माफी दिन लायक नभएको पनि उनीहरूले बताएका छन् । एकथरीले भने उनको उक्त भनाइले नै महिलामाथि हिंसा भएको तर्क गरेका छन् । अर्काथरीले चाहिँ उनको राजीनामा नै मागेका छन् ।
लाञ्छना
कानूनमन्त्रीले विना प्रमाण लगाएको लाञ्छनाले विद्यार्थीको दक्षतामै प्रश्न चिन्ह खडा गरेको बांग्लादेशको सिलेट शरहमा रहेको इस्टवेस्ट विश्वविद्यालमा अध्ययनरत सब्बु पोखरलले बताइन् । ‘म बांग्लादेशमा बसेर पढेको तीन वर्ष भइसक्यो । तर मन्त्रीले भन्नु भए जस्तो यौन हिंसाबारे मलाई थाहा छैन । हामीले राम्रो नम्बर ल्याएर उत्तीर्ण हुनुपर्छ भनेर निकै मिहिनेत गरिरहेका छौं ।’
‘विना आधार उहाँले यस्ता टिप्पणी गरिदिएपछि हाम्रो दक्षतामाथि भोलि प्रश्न उठ्न सक्नेछ अब ।’ ढाकामा एमबीबीएस पढ्दै गरेकी छोरीकी आमा सरिता थकालीले पनि मन्त्री तामाङले गरेको हलुका टिप्पणीले मन चस्स पारेको बताइन् । उनले भनिन्, ‘आफ्नो बच्चाहरू पढिरहेको ठाउँको बारेमा त्यस्तो आरोप लगाएको सुन्दा मन दुख्यो । त्यस्तो सुन्ने बित्तिकै मैले छोरीलाई फोन गरेर सोधें । तर उसले पढ्ने वातावरण राम्रो भएको बताइन् ।’
मन्त्री तामाङको विवादास्पद टिप्पणीको सार्वजनिक मञ्च र सामाजिक सञ्चालमा निकै आलोचना भएको छ । विपक्षी दलका नेताहरूले पनि उक्त भनाइबारे प्रतिक्रिया दिएका छन् । मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मन्त्री तामाङको टिप्पणीको प्रमाणबारे प्रश्न गरिन् । महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूले पनि यसको भत्र्सना गर्दै विज्ञप्ति निकालेका छन् ।
कार्बाही
चिकित्सा शिक्षा अध्यादेशमा आफूले राखेका मागहरू समावेश हुनुपर्छ भन्दै डा। गोविन्द केसी अनशन बसेपछि चिकित्सा शिक्षा फेरि एकपटक राजनीतिक मुद्दा बनेको छ । यसरी उठेको राजनीतिक मुद्दाको ध्यान अन्यत्र तान्न यस्ता खालका अभिव्यक्तिहरू आएको केही समयअघि बांग्लादेशबाट एमबीबीएस सकेर फर्केकी पाँचखाल निवासी रोजी मानन्धर बताउँछिन् । ‘मेडिकल कलेज खोल्न अनुमति दिने विषय उठिरहेको बेला मन्त्री ज्यूले सजिलै बांग्लादेशमा अध्ययन गरिरहेका छात्रामाथि यौन शोषण भएको भनिदिनु भयो । जबकी राजनीतिक विषयमा महिला अस्मिता जोड्नु पर्ने कुनै जरुरी नै छैन ।’ ‘उहाँहरू जनताप्रति जवाफदेही हुनुपर्ने हो । तर आजकल राजनीतिज्ञहरूलाई जे बोले पनि हुन्छ भन्ने लाग्छ ।’ कानूनमन्त्रीले गरेको गैरजिम्मेवारी पूर्ण टिप्पणीबारे सरकारले कार्बाही गर्नुपर्ने मानन्धरले बताइन् ।
‘बांग्लादेशमा दुई हजारभन्दा बढी नेपाली छात्रा चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीले भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हुँ ।’ ‘नेपाली छात्राले अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रूपमा समेत रहेका छन्’, उनको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनले क्षमा माग्दै लेखेका छन्, ‘मेरो उक्त दिनको भनाइले बांग्लादेमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।’ तर मन्त्री तामाङले विज्ञप्तिमार्फत मागेको माफीले उनीहरूलाई गरेको क्षतिको न्यूनीकरण गर्न नसक्ने बांग्लादेशमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत एलिजा सैंजुको भनाइ छ । उनी भन्छिन्, ‘सत्य तथ्य थाहा नभएको विषयमा उहाँले यत्तिकै बोलिदिनु भयो अनि त्यसको आलोचना भएपछि माफी माग्नु भएको हो । तर उहाँको बोलीले हाम्रो चरित्रमाथि उठेको प्रश्नको जवाफ उनको माफीले समाधान गर्न सक्छ र ?’
महिला अधिकारकर्मीहरू भने विदेशमा नेपाली चेलीको खराब स्थिति चित्रण गर्ने क्रममा मन्त्री तामाङले आफैँले महिलामाथि दुव्र्यवहार गरेको बताएका छन् । त्यस्तैमध्येकी एक डाक्टर रेणु अधिकारीले भनिन्, ‘महिलालाई उपभोग गर्ने वस्तुको रूपमा हेर्ने व्यक्तिले यस्तो टिप्पणी गर्न सक्छन् । उहाँले बोलीमार्फत महिला दुव्र्यवहार गर्नु भएको छ ।’ देशभित्र बढ्दो क्रममा रहेको महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न पर्याप्त पहल गर्न नसकेको सरकारका कानून तथा न्याय मन्त्रीद्वारा आएको गैरजिम्मेवार टिप्पणीले महिलाको मुद्दामा सरकार कत्तिको जिम्मेवार छ भन्ने प्रस्ट पारेको अधिकारकर्मीहरूले बताएका छन् । यस्तो अभिव्यक्ति दिने व्यक्तिमाथि कार्बाहीको पनि उनीहरूले माग गरेका छन् । बीबीसी