एमालेले आजदेखि विधान संशोधनमा छलफल थाल्दै, आज सचिवालय बैठक


२०८२ श्रावण १ बिहीबार ०७:४३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको वैठक बस्दैछ ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने जनाइएको छ ।

संशोधनको खाका बनाउन यसअघि नै पार्टी उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जस अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् । आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।

आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ। एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ ।

‘आजबाट विधान संशोधन प्रतिवेदनको खाकामाथि छलफल सुरु हुनेछ । सचिवालयका नेताहरूले आफ्ना कुरा राखेपछि उक्त खाका पोलिटब्यूरो र केन्द्रीय कमिटीमा लगिनेछ,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘विधानको खाका बैठकमा राखेसँगै विधान महाधिवेशनको एजेण्डामाथि औपचारिक छलफल पनि सुरू हुनेछ ।’

यो विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने स्रोत बताउँछ । स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यी दुवै व्यवस्था हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी छ ।

‘पार्टी बैठकले यी दुवै व्यवस्था विधानबाट हटाउने निर्णय गरिसकेकाले यही प्रस्ताव लैजानु केन्द्रीय कार्यालयको दायित्व हो,’ स्रोत भन्छ, ‘अब छलफलका क्रममा नेताहरूले कस्तो कुरा राख्नुहुन्छ, विधान महाधिवेशनका प्रतिनिधिहरूले कस्ता मत राख्छन् भन्ने फरक हो ।’

१५–१७ असोज २०७८ मा सम्पन्न गोदावरी विधान महाधिवेशनबाट संशोधित पार्टी विधानको धारा ६४ (१) मा दुई कार्याकाल बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र धारा ६४ (२) मा ७० वर्षे उमेर हद रहने व्यवस्था थियो । तर दुई महिना नबित्दै चितवनमा (१०–१४ मंसिर २०७८ मा) सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीबाट धारा ६४ (१) को व्यवस्था हटाइएको थियो ।

नेताहरूका अनुसार १० मंसिर २०७८ साँझ बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या २२५ बाट ३०१ बनाउने, पदाधिकारी संख्या १५ बाट १९ बनाउने र केन्द्रीय आयोगहरू १५ बाट २५ बनाउने निर्णय समेत भएको थियो । महासचिव शंकर पोखरेलले दुईपटक बढी उम्मेदवार हुन नपाउने व्यवस्था खारेज गरेकैले डा. पुष्प कँडेल तेस्रा ेपटक लेखा परीक्षण आयोगको अध्यक्ष निर्वाचित भएको तर्क गरिरहेका छन् ।

महासचिव पोखरेलसहित ओलीतर्फका नेताहरूको यस्तो तर्कप्रति पार्टीभित्रै असहमति छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले संस्थापन पक्षको तर्कमा असहमति जनाइरहेका छन् । एउटै पदमा दुई पटक बढी बस्न नपाइने व्यवस्थाकै कारण ईश्वर पोखरेल तेस्रो पटक महासचिव बन्न नपाएको उनीहरूको तर्क छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७