काठमाडौं, ८ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।
बैठकको शुरुमै कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । कांग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षी भन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक–पटकको आग्रपछि पनि कांग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।
प्रतिपक्षले विरोधका जनाइरहँदा पनि नेकपाका प्रमुख सचेतक भट्टराईले पछिल्लो समय विकसित राजनीतिक घट्नाप्रति सत्तापक्ष जिम्मेवार रहेकोले सदनलाई रोक्नु आवश्यक नरहेको धारणा राख्दै कार्यसूचीमा प्रवेश गर्न अध्यक्षसंग आग्रह गरेका थिए । आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन ९ गते बिहान ११ बजे बस्ने छ ।