संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा गर्न सकिन्छ : सभामुख घिमिरे


२०८२ असोज ३ शुक्रबार १०:३५ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले विगतमा खोसिएको जनताको अधिकार संसदमार्फत पुनर्स्थापित भएको स्मरण गराएका छन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन् ।

विगतमा नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण गराएका छन् ।

संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको उनले स्पष्ट पारेका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।

संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनले उल्लेख गरेका छन् ।

भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएको उल्लेख समेत गरेका छन् ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।

अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७