ट्यांकर पल्टिएर पेट्रोल पोखिँदा इजिप्टको कायरोमा भीषण आगलागी, ३१ जनाको ज्यान गयो
काठमाडौं : कायरोको व्यस्त राजमार्गमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
बुधबार साँझ इजिप्टको राजधानी कायरोस्थित वर्राक क्षेत्रको रिङ रोडमा भएको दुर्घटनापछि आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।
इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि लागेको आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । आगलागीका कारण राजमार्गमा रहेका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन् ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ । उनीहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशभरि फैलिएको कालो धुवाँ देखिएको छ ।
सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले सवारीसाधनमाथिको नियन्त्रण गुमाएको पाइएको छ ।
त्यसपछि ट्यांकर सडकको डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । यद्यपि, घटनाको आधिकारिक कारणबारे अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।
.gif)

.png)




