नक्कली इन्जिनियरिङ प्रमाणपत्र पेस गरेर सरकारी जागीर खाने भोजबाबुविरुद्ध मुद्दा दायर
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी तथा शैक्षिक संस्थामा करार सेवामा काम गरेको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्यूठानको ढुंगेगढी गाविस–४ घर भई हाल सरुमारानी गाउँपालिका–४ बस्दै आएका मगरले सिभिल इन्जिनियरिङमा डिप्लोमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा तथा सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार मगरले ओखलढुंगाको रूम्जाटार माध्यमिक विद्यालयमा सहायक प्रशिक्षकका रूपमा करिब दुई वर्ष करार सेवामा काम गरेका थिए ।
त्यसपछि उनले नेपाल सरकारको खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा समेत करार नियुक्ति लिएको उजुरी परेको थियो ।
उक्त नियुक्तिका लागि उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको ठहर छ ।
नक्कली प्रमाणपत्र प्रयोग गरी सार्वजनिक पद तथा लाभ प्राप्त गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको भन्दै आयोगले सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
.gif)

.png)




