सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जना सर्टलिस्ट
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये ६ जनाको दरखास्त स्वीकृत भएको छ ।
प्राधिकरणले दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावलीसँगै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ ।
गत कात्तिक १९ गते प्रकाशित सूचनाअनुसार मंसिर ३ गतेसम्म प्राप्त दरखास्त सहकारी ऐनमा तोकिएको मापदण्डबमोजिम परीक्षण गर्दा ६ जना उम्मेदवार योग्य ठहरिएको प्राधिकरणले जनाएको छ ।
स्वीकृत दरखास्त भएका उम्मेदवारमा त्रिलोचन घिमिरे, डा. रमेशप्रसाद चौलागाईं, रोशनकुमार अधिकारी, रोशनबहादुर शाक्य, विश्वराज बराल र समता पन्त छन् ।
प्राधिकरणका अनुसार त्रिलोचन घिमिरे, डा. रमेशप्रसाद चौलागाईं र रोशनकुमार अधिकारीको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण मंसिर २३ गते बिहान १०ः३० बजे हुनेछ । उनीहरूको अन्तर्वार्ता मंसिर २४ गते बिहान १०ः३० बजे तय गरिएको छ ।
त्यस्तै, रोशनबहादुर शाक्य, विश्वराज बराल र समता पन्तको प्रस्तुतीकरण मंसिर २३ गते दिउँसो १ बजे तथा अन्तर्वार्ता मंसिर २४ गते दिउँसो १ बजे हुनेछ ।
अवधारणापत्र, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ ।
प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुन उम्मेदवारले आवेदनसँगै पेस गरेका सबै कागजातको सक्कल प्रति लिएर तोकिएको समयभन्दा कम्तीमा एक घण्टाअघि उपस्थित हुनुपर्नेछ ।
सार्वजनिक बिदा परे पनि प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम यथावत् सञ्चालन हुने प्राधिकरणले स्पष्ट पारेको छ ।
.gif)

.png)




